NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कमला पुल निर्माणमा १३ वर्ष ढिलाइ, मन्त्रीको निर्देशन बेअसर

धनुषा-सिरहा जोड्ने ४७० मिटर लामो कमला पुल १३ वर्षदेखि निर्माणाधीन छ। उद्घाटन हुनुअघि नै भासिएको पुलको पुनःनिर्माणमा ढिलाइले मधेस प्रदेशको लाइफलाइन प्रभावित भएको छ।
Kamala Devi
Kamala Devi
13 June 2026, 7:47 am १ मिनेट पढाइ
आकार:
कमला पुल निर्माण
Share:

उद्घाटन हुनुअघि नै भासिएको धनुषा-सिरहा जोड्ने कमला पुल १३ वर्षदेखि अलपत्र छ। मन्त्रीहरूले पटकपटक निर्देशन दिए पनि ठेकेदारले कामलाई गति दिन सकेको छैन।

करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरूले बारम्बार निर्माण सम्पन्न गर्न निर्देशन दिए। हालका मन्त्री सुनिल लम्सालले समेत केही साताअघि पुलको स्थलगत निरीक्षण गरी निर्माण कार्य तीव्र पार्न निर्देशन दिएका थिए।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार वर्षायाम सुरु भएसँगै बाढीको जोखिम बढेको छ। यसकारण यस वर्ष पुल निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ। मधेस प्रदेशको लाइफलाइन मानिने यो ४७० मिटर लामो पुलको निर्माण २०६८ जेठ ३१ गते ४२ महिनाभित्र सक्ने गरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो।

सम्झौता भएको सात वर्षसम्म पनि काम नभएपछि हुलाकी राजमार्ग निर्देशनालयले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई जिम्मा दिएको थियो। निर्माण अन्तिम चरणमा पुगेर २०७८ साउनमा उद्घाटनको तयारी भइरहेका बेला पुल भासिएको थियो।

१३ पिलर र १२ स्पान रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पिलर भासिएको थियो। पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले काम रोकिएको थियो।

कमला नदीमा पुल नहुँदा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित भएको छ। सिरहा नगरपालिका–१७ का प्रवीण साहका अनुसार सर्वसाधारणलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम आउजाउ गर्न निकै सास्ती छ। बाढीले आवतजावत प्रभावित हुँदा गम्भीर बिरामीको उपचारका लागि जनकपुर वा विराटनगर पुग्न समस्या हुने गरेको छ। सिरहाबाट जनकपुरधाम हुलाकी राजमार्ग हुँदा ३० किलोमिटर पर्छ। महेन्द्र राजमार्गबाट ९० किलोमिटरको दूरी तय गर्नुपर्छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार