झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट ५७० ग्राम सुन र ठूलो परिमाणको विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट सिटी सफारीमार्फत नेपाल प्रवेश गर्दै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठकलाई नियन्त्रणमा लिएको हो।
जेठ ४ गते विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा पाठकको साथबाट ५७० ग्राम सुन, २० हजार अमेरिकी डलर र ८५ हजार ४१० भारतीय रुपैयाँ बरामद भएको छ।
प्रहरीका अनुसार, उनको साथबाट एक थान भारतीय आधार कार्ड, दुई थान मोबाइल सेट, एक थान हार्ड डिस्क, एक थान बैंक चेक र सातवटा सिमकार्ड समेत फेला परेका छन्।
बरामद सुन तथा अन्य सामग्रीसहित पक्राउ परेका पाठकलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले पाठक नेपाल प्रवेश गर्नुको उद्देश्य खुल्न नसकेको बताए।
