सुनसरीको कप्तानगञ्जमा उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरुङले छलफल गरेका छन्। उनले त्रिवि शिक्षण अस्पतालमा पुगेर मृतकका आफन्तसँग भेटघाट गरेका हुन्।
गृह मन्त्रालय स्रोतका अनुसार, रवीन्द्र मेहताको शव पोस्टमार्टमका लागि बुझ्न परिवार सहमत भएको छ। मृतकका बुवा–आमा आएपछि उनीहरूको मागबारे पूर्ण सम्झौता हुने गरी आजको छलफल सकिएको छ। भोलि दोस्रो चरणको वार्ता हुनेछ।
आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीचको विवाद झडपमा परिणत हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो। देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार मृत्यु भयो। मंगलबार बिहान रवीन्द्र मेहताको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको छ।
यसअघि आजै गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। सो छलफलमा मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा कुराकानी भएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।
