मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

छारेभिरमा पहिरो: कर्णाली करिडोर ठप्प, सयौं यात्रु अलपत्र

हुम्लाको छारेभिरमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध भएको छ। ठूला ढुंगाका कारण सडक खुलाउन कठिनाई भएको छ। सडक खुलाउन आइतबार बिहानदेखि प्रयास सुरु हुनेछ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
कर्णाली करिडोर पहिरो
Share:
१११

हुम्लाको छारेभिरमा पहिरो खस्दा कर्णाली करिडोर सडक अवरुद्ध भएको छ। शनिबार पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब १०० मिटर सडक बन्द हुँदा सवारी आवागमन ठप्प भएको छ।

पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडकमा ठूलाठूला ढुंगा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ।

जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले Nmkhabarलाई पुष्टि गरे। श्रीमतीको उपचारका लागि सिमकोट आउँदै गरेका बुढा पहिरोका कारण बीच बाटोमै रोकिनुपरेको बताउँछन्।

“उहाँहरू पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ। स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भने।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन पहल भइरहेको जानकारी दिए। उनका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन। सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी छ।

करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ। दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए। उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः सोमबार दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ।

वर्षायाममा बाढी, पहिरो र ढुंगा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

थप समाचार