बचत फिर्ता नपाएपछि आन्दोलित बनेका कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताले सोमबार नेपालगञ्जस्थित राष्ट्र बैंकको कार्यालय घेराउ गरेका छन्। उनीहरुले आफ्नो बचत रकम फिर्ता नगरे राष्ट्र बैंकको गेटमै सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्।
बैंकको केन्द्रीय कार्यालयबाट नाराबाजीसहित प्रदर्शन सुरु गरेका बचतकर्ताले सरकार र राष्ट्र बैंकले लाइसेन्स दिएकै कारण बैंकमा पैसा राखेको र अहिले डुबेको भन्दै त्यसको जिम्मा राष्ट्र बैंकले नै लिनुपर्ने माग गरेका छन्।
‘बैंकिङ घोटाला बन्द गर’, ‘हाम्रो पैसा फिर्ता गर’ जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका बचतकर्ताले गत वैशाखमा गरेको पहिलो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभएपछि जेठ १८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको बताएका छन्।
बचत फिर्ता नपाउँदा दैनिक घर चलाउन र उपचार गर्नसमेत समस्या भएको उनीहरुको गुनासो छ। बचतकर्ताले राष्ट्र बैंकका अधिकारीलाई भेटेर तत्काल आफ्नो रकम फिर्ताको व्यवस्था गर्न माग गरेका छन्।
