कर्णाली प्रदेशभर भारी वर्षाका कारण हुनसक्ने जोखिमले सबै सवारी साधनको आवागमन रोकिएको छ। प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लाका लागि यातायात सेवा पूर्ण बन्द छ।
जिल्ला प्रशासन कार्यालयहरूको निर्णयपछि प्रहरीले दैलेख, कालिकोट लगायतका जिल्लाबाट वीरेन्द्रनगर आउने गाडी रोकेको छ। यससँगै कर्णाली प्रदेशभर अन्तर जिल्ला सवारी साधन चल्न बन्द गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार वर्षाले निम्त्याउन सक्ने जोखिमले लामो दूरीका सवारी साधन पूर्ण रूपमा रोकिएका हुन्।
प्रवक्ता राठौरले भने, ‘अन्तर जिल्ला सवारी साधन चल्न पूर्ण रूपमा रोकिएको छ। अति आवश्यक परेमा जिल्लाभित्र फाटफुट सवारी साधन चल्न दिइएको छ।’
