काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव पुनः बल्झिएको छ। आपूर्ति सहज भएको दाबी गरिए पनि ग्यास लिन डिपो तथा डिलर पुगेका उपभोक्ताको लाइन अझै घटेको छैन।
कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आए पनि उपत्यकामा ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा छन्।
तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई समयमा ग्यास उपलब्ध गराउन नसकेको अभिव्यक्ति दिएपछि भदौ २५ गते राजीनामा दिएकी थिइन्। उनको राजीनामापछि दीपककुमार साह उद्योगमन्त्री बने। तर साह मन्त्री बनेपछि पनि उपत्यकामा ग्यासको अभाव उस्तै छ।
अनामनगर, बानेश्वर, बुद्धनगरका बिक्री केन्द्रमा ग्यास खोज्दै हिँडेका महेन्द्र रोकायाले चार दिनसम्म ग्यास पाएनन्। ‘ग्यास सकिएको चार दिन भयो। विगत चार दिनदेखि कोठामा खाना पाकेको छैन,’ उनले भने।
अनामनगरस्थित नेपाल ग्यासको डिपोमा लाइन बसेकी निर्मला सिवाकोटी दुई दिनदेखि ग्यासविहीन छिन्। ‘केही दिनअघि बाटोको समस्या भनिएको थियो। अहिले बाटो सञ्चालनमा छ, तर ग्यास पाइएको छैन,’ उनले भनिन्।
नेपाल आयल निगमका अनुसार गत बुधबार दिउँसो १ बजेसम्म उपत्यकाका डिलरलाई ५२,८८४ थान ग्यास सिलिन्डर वितरण गरिएको थियो। यो संख्या १३ भदौको पहिरोपछि सबैभन्दा बढी हो।
बुधबार २१ ग्यास उद्योगले डिलरमार्फत बजारमा ग्यास पठाए। नेपाल ग्यासले ६,९९८ थान र सगर ग्यासले ६,५८७ थान सिलिन्डर पठायो। पर्याप्त ग्यास बजारमा पठाइएको दाबी गरिए पनि उपभोक्ताले सहजै सिलिन्डर पाएका छैनन्।
नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी प्रयास गरिरहेको बताएका थिए। उनले भदौ २५ गते पदभार सम्हालेका थिए।
ग्यासको बढ्दो माग र चाडपर्वलाई लक्षित गरी तीन महिनासम्म प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन भारत सरकारसँग औपचारिक पत्राचार गरिएको छ।
तर नयाँ उद्योगमन्त्री आएपछि आपूर्ति सहज हुने अपेक्षा गरिए पनि काठमाडौंका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन केही समय कुर्नुपर्ने अवस्था छ। आपूर्ति प्रणालीमा समस्या, खाली सिलिन्डर फिर्तामा ढिलाइ र वितरणमा असन्तुलनले काठमाडौंमा ग्यास अभावसँगै कृत्रिम अभाव र कालोबजारीको गुनासोसमेत आउन थालेको छ।
