NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंमा प्रहरीको साताव्यापी अभियान: खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौंमा प्रहरीको साताव्यापी खोजतलास अभियान सम्पन्न भएको छ। यस अभियानका क्रममा १०१ ग्राम खैरो हेरोइनसहित ११ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना लागुऔषध मुद्दामा थुनामा रही फरार भएका थिए।
Laxmi Bhattarai
Laxmi Bhattarai
1 June 2026, 9:03 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले काठमाडौंका विभिन्न स्थानमा यही जेठ १२ गतेदेखि १७ गतेसम्म गरिएको खोजी अभियानका क्रममा ११ जनालाई पक्राउ गरिएको जानकारी दिए।

जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न र सक्रिय रहेको भन्ने सूचनाका आधारमा ब्यूरोले टोली खटाएको थियो। सो क्रममा निजहरूबाट १०१ ग्राम लागुऔषध बरामद भएकाले सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार कैलाली, घोडाघोडी बस्ने ३२ वर्षीय दीपाकुमारी विष्ट पक्राउ परेकी छन्। महोत्तरी, एकडरा ४ का २६ वर्षीय अमरकुमार साह पनि पक्राउ परेका छन्।

चितवन, भरतपुर महानगरपालिका १७ का ३६ वर्षीय सुनिल लामा, इलाम, चुलाचुली गाउँपालिका ४ का ३५ वर्षीया सङ्गिता बास्कोटा पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका २६ का ३७ वर्षीय प्रशान्त राना मगर पनि पक्राउ परेका छन्।

नुवाकोट, शिवपुरी गाउँपालिका २ का ३३ वर्षीय पेम्बा लामालाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार चितवन, भरतपुर महानगरपालिका ७ का ३८ वर्षीय जीवनकुमार लामा पक्राउ परेका छन्। नवलपरासी (पूर्व), कावासोती नगरपालिका २ का २९ वर्षीय सरोज गुरुङ पनि पक्राउ परेका छन्।

भारतको दरभङ्गा जिल्ला, फिर्मा पञ्चायत, कचुवा २ ठेगाना भएका २६ वर्षीय आकाश सिंह पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका १७ की २० वर्षीया जिया राई पनि पक्राउ परेकी छन्।

मकवानपुर, थाहा नगरपालिका ९ ठेगाना भएकी २० वर्षीया स्वस्तिका तामाङलाई पनि पक्राउ गरिएको छ।

निजहरूमध्ये सुनिल लामा र सङ्गिता बास्कोटा लागुऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको अवस्थामा भाद्र २३ र २४ गतेको आन्दोलनमा फरार रहेका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार