NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खजुरा गाउँपालिकाद्वारा अमन कन्स्ट्रक्सनका पाँच ठेक्का रद्द

बाँकेको खजुरा गाउँपालिकाले पाँच योजनाको ठेक्का रद्द गरेको छ। अमन कन्स्ट्रक्सनले सम्झौता अनुसार काम नगरेको भन्दै ठेक्का तोडिएको हो। सडक कालोपत्र लगायतका योजना वर्षौंदेखि अलपत्र परेका थिए।
Kamala Devi
Kamala Devi
4 June 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
Share:

बाँकेको खजुरा गाउँपालिकाले विकास आयोजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायी अमन कन्स्ट्रक्सनका पाँच ठेक्का सम्झौता रद्द गरेको छ। निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्न नभएकाले ठेक्का तोडिएको हो।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार, गाउँपालिकाको विभिन्न वडामा योजना निर्माणका लागि अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग गरिएका पाँचवटै ठेक्का सम्झौता रद्द गरियो। खजुरा गाउँपालिका–४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सनसित ठेक्का सम्झौता भएको थियो। कम्पनीले २०७८ जेठ ३० गतेभित्र काम सक्ने सम्झौता गरे पनि हालसम्म पूरा भएको छैन।

दुई भागमा आह्वान गरिएको उक्त योजनामा ग्राभेल र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक जीर्ण बनेको छ। अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति, र बिगाउँ ९० देखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षौंदेखि अलपत्र छन्।

पालिकाले सबै पाँच ठेक्का रद्द गर्ने निर्णय गरेको हो। निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, सुधार नदेखिएको तथा काम सम्पन्न नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको थियो।

सार्वजनिक सूचना जारी भएपछिको अवधिमा पनि सम्झौताबमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेकाले अमन कन्स्ट्रक्सन, गुलरिया–बर्दियासँगको ठेक्का सम्झौता अन्त्य गरिएको पौडेलले बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार