सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले करिब १५ मिटर सडक पुरेको छ।
पहिरो खस्ने क्रम नरोकिएकाले प्रहरी टोलीले सडक खुलाउन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको बताए।
खाँदबारी–किमाथाङ्का सडकखण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सडक हो। सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयवासी, यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङले सडक आसपासका भिरालो क्षेत्रमा सुख्खा पहिरो खस्ने घटना बढेको बताए। कमजोर चट्टान र ढुङ्गा खस्ने जोखिम अझै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन उनले आग्रह गरे।
योजना कार्यालय, स्थानीय तह र सुरक्षा निकायको समन्वयमा उपकरण परिचालन गरी पहिरो पन्छाउने तयारी भइरहेको छ।
