खोटाङमा गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमा हेरफेर गर्नेबारे छलफल सुरु भएको छ। असार ४ गतेको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिले सरोकारवाला निकायसँग सीमाना हेरफेर, एकीकरण र नगरपालिका वर्गीकरण पुनरावलोकनबारे संवाद थालेको हो।
साउन ३० गते दिक्तेलमा भएको छलफलमा जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए। यस बैठकले स्थानीय तहको सङ्ख्या र सीमाना पुनःसंरचनाका लागि प्रारम्भिक आधार तय गरेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिए। पहिलो दिनको छलफलमा मापदण्डको प्रारम्भिक अध्ययन गरिएको उनले बताए।
समितिले सरोकारवालासँग छलफलपछि स्थलगत अध्ययन गर्नेछ। विज्ञको सहयोगमा मापदण्डबमोजिम कामलाई अन्तिम रूप दिइने राईले बताए। खोटाङमा हाल १० स्थानीय तह छन्: दुई नगरपालिका र आठ गाउँपालिका। जिल्लामा कुल ७९ वडा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक अधिकांश राजनीतिक दलका नेताले तत्काल वडा सङ्ख्या नघटाउन सुझाव दिएका छन्। तर, अपायक क्षेत्रलाई टुक्र्याएर पायक पर्ने वडा वा पालिकामा गाभ्न सकिने विकल्पमा उनीहरू सकारात्मक देखिएको राईले बताए।
केही नेताले वडा सङ्ख्या घटाउनुको सट्टा आवश्यकतानुसार हालका वडालाई टुक्र्याएर दुई वडा बनाउन पहल गर्नुपर्ने धारणा राखे। जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।
