NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

खोटाङमा पारिश्रमिक विवादले लियो उग्र रूप, एकै घरका तीन जना पक्राउ

• खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ध्रुव अधिकारीको खुकुरी प्रहार गरी हत्या। • पारिश्रमिक विवादका क्रममा भएको घटनामा एकै घरका तीन जना पक्राउ। • प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ।
Maya Thapa
Maya Thapa
11 July 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
खोटाङ हत्या
Share:

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३८ वर्षीय ध्रुव अधिकारीको खुकुरी प्रहारबाट हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकै घरका तीन जनालाई पक्राउ गरेको छ।

घरायसी विवादका क्रममा बिहीबार अधिकारीमाथि खुकुरी प्रहार भएको थियो। यस घटनामा संलग्न भएको आरोपमा ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, घटनालगत्तै तीलकबहादुरलाई पक्राउ गरिएको थियो। उनकी श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको हो।

मृतक ध्रुव अधिकारीले तीलकबहादुर सार्कीको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न जाँदा विवाद भएको थियो। विवाद उग्र भएपछि तीलकबहादुरले खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो।

मृतकका आफन्तले किटानी जाहेरी दिएपछि सार्की दम्पती र उनीहरुकी छोरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। प्रहरीले कर्तव्य ज्यान मुद्दा अन्तरगत थप अनुसन्धान गरिरहेको छ।

शव परीक्षणपछि मृतक अधिकारीको शव आफन्तको जिम्मा लगाइएको छ। मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार