नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष स्थापना गरेको छ, जसले ६५ वर्ष पूरा गरेका र २५ वर्ष निरन्तर पत्रकारिता गरेकालाई मासिक तीन हजार रुपैयाँ प्रदान गर्नेछ।
यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा १० लाख रुपैयाँ जम्मा गर्ने योजना बनाइएको छ।
नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले कोष स्थापनाको जानकारी दिए। यसले ज्येष्ठ पत्रकारहरूको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि र सामाजिक सुरक्षा सुनिश्चित गर्नेछ। आचार्यले उनीहरूको अनुभव, योगदान र समर्पणको उच्च कदर गरिने बताए।
पेन्सन कोषबाट प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार, व्यङ्ग्ये चित्रकार लगायतले सुविधा लिन सक्ने कार्यविधिमा उल्लेख छ। पत्रकारहरूको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउन कोष स्थापना गर्ने निर्णय गरिएको महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले बताए।
पेन्सन कोषको सुविधा लिने ज्येष्ठ पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा नरहेको हुनुपर्ने महासङ्घले जनाएको छ। कार्यविधिअनुसार, सूचना तथा प्रशारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा परेका व्यक्तिले सुविधा पाउने छैनन्। नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई समेत कोषको सुविधा उपलब्ध नगराइने उल्लेख छ।
निवर्तमान अध्यक्ष दिलीप खत्रीले पेन्सन कोषले पत्रकारहरूको सम्मान र संरक्षणमा सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे। यसले पत्रकारिता पेसामा लामो समयदेखि योगदान दिएकाहरूलाई लाभ पुग्नेछ।
कोषलाई थप व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग लिइनेछ। विभिन्न दातृ निकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट पनि सहयोग जुटाइने पत्रकार महासङ्घले जनाएको छ। विसं २०६१ सालमा स्थापना भएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा हाल ३१ जना साधारण सदस्य रहेका छन्।
यसैबीच, पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको कामसमेत गत चैतबाट सुरु गरिएको छ। कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यसबाट साढे दुईतले पक्की कार्यालय भवन निर्माण भइरहेको छ।
मोहन एन्ड बेँसीगाउँ–रूपाकोट–सरस्वती जेभी खोटाङले ठेक्का प्रणालीमार्फत निर्माण सुरु गरेको छ। यो भवन २०८४ साल पुस २३ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। हाल महासङ्घले दिक्तेल बजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर साँघुरो कोठाबाट कार्यसञ्चालन गर्दै आएको छ।
कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए। विसं २०६३ मा निःशुल्क उपलब्ध गराइएको उक्त जग्गामा यसअघि निर्माण गरिएको ढुङ्गा/माटोको कच्ची भवन उपयोगविहीन भएको थियो।
