ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटानबाट हुने क्षति रोक्न तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कोशी कटान नियन्त्रणका लागि आवश्यक काम अघि बढाउने बताएका हुन्।
नदी कटानको दीर्घकालीन नियन्त्रणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार काम गरिने उनले उल्लेख गरे। वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले कोशी नदीको निरन्तर कटान र बाढीजन्य जोखिमका कारण बराहक्षेत्र मन्दिर क्षेत्रका धार्मिक तथा ऐतिहासिक संरचना जोखिममा परेको भन्दै मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्रमा चतरा हुँदै वराहक्षेत्र मन्दिर पुग्ने सडक साँघुरो हुनुका साथै वर्षायाममा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदा तीर्थयात्रीलाई समस्या हुने भएकाले सडक स्तरोन्नति गर्न माग गरिएको छ। धार्मिक क्षेत्रको संरक्षण र स्थानीय जनजीविकासँग जोडिएका समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्नसमेत ज्ञापनपत्रमा आग्रह गरिएको छ।
यसअघि मन्त्री श्रेष्ठले भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला, भोक्राहा नरसिंहको सवस्टेसन, चतरा जलविद्युत् केन्द्र तथा सुनसरी–मोरङ सिँचाइ आयोजना न्यूइन्टेकको समेत स्थलगत अनुगमन गरेका थिए।
