कोशी प्रदेश सरकारको साझा न्यूनतम नीति तथा कार्यक्रम एक हप्ताभित्र तयार हुने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त कार्यदलले यसको मस्यौदा तयार गर्नेछ।
गएको साउन २५ गते बसेको दुई दलको बैठकले नेकपा संसदीय दलका नेता आङ्बोको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति गरेको थियो। कार्यदलमा एमालेका तर्फबाट तिलकुमार मेन्याङ्बो, तिलचन पाठक, रेवतीरमण भण्डारी र राजकुमार भण्डारी सदस्य छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट संयोजक आङ्बोसहित बाबुराम गौतम र गणेश उप्रेती सदस्य रहेका छन्।
कार्यदलको पहिलो बैठक आज बसेको र एक हप्ताभित्र नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने सहमति भएको संयोजक आङ्बोले जानकारी दिए। त्यसपछि अर्को एक हप्ताभित्र बजेटको पुनरावलोकन गरिने उनको भनाइ छ।
‘आज पहिलो बैठक बस्यो । नीति तथा कार्यक्रमको ड्राफ्ट गर्ने सहमति भएको छ । त्यो समितिले १ हप्ताभित्र नीति तथा कार्यक्रम बनाइसक्छ । त्यसपछिको एक हप्ताभित्रमा बजेट पुनरावलोकन हुन्छ । हामी लामो समय लगाउने पक्षमा छैनौँ,’ आङ्बोले भने।
प्रदेशको पुनःनामकरणको विषयमा भने अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन। सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार विकास, सामाजिक विकास, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानून मन्त्रालय पाइसकेको छ। यसअघि नेकपाले जीवन आचार्य, गीता तिम्सिना, खिनु लङ्वा लिम्बू र गोम्बु शेर्पालाई फूल मन्त्री तथा सपना दर्जीलाई राज्यमन्त्रीमा पठाइसकेको छ।
