विराटनगरको कोशी अस्पतालमा निजी क्षेत्रमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि बिरामीको चाप थेगिनसक्नु भएको छ। जेठ १६ गतेदेखि निजी अस्पतालमा आकस्मिकबाहेकका बीमा सेवा रोकिँदा हजारौं नागरिक उपचारबाट वञ्चित भएका हुन्।
कोशी प्रदेशकै ठूलो सरकारी अस्पताल कोशीमा दैनिक बिरामीको संख्या २ हजार नाघेको छ। पहिले दैनिक १ हजारदेखि १२ सय बिरामी आउनेमा अहिले दोब्बरले बढेको हो। सोमबार दिउँसो १ बजेसम्म १८ सयले ओपीडी पुर्जी काटेको अस्पतालका मेसु डा. रामनारायण चौधरीले बताए।
सीमित जनशक्ति र पूर्वाधार भएको सरकारी अस्पतालमा यो चाप धान्न गाह्रो छ। बिरामीहरू घण्टौं लाइनमा बसेर सेवा लिन बाध्य छन्। बिहान ८ बजे लाइन बसेका अपन मियाले ५ घण्टापछि डाक्टर भेटे। सरकारी अस्पतालको लाइन र चर्को घामले बिरामी बनाउने अवस्था छ, उनले भने।
कोशी प्रदेशका ५२ प्रतिशत नागरिक, करिब २६ लाख, स्वास्थ्य बीमामा आबद्ध छन्। ११३ स्वास्थ्य संस्थाबाट सेवा पाइरहेका उनीहरू तीन ठुला मेडिकल कलेजसहित २१ निजी अस्पतालबाट सेवा बन्द भएपछि अलपत्र परेका हुन्।
स्वास्थ्य बीमा बोर्डले सरकारी अस्पताल सुदृढीकरण गर्ने दाबी गरे पनि सरकारले निजी अस्पताललाई तिर्नुपर्ने १० देखि १२ अर्ब रुपैयाँ शोधभर्ना दिन नसक्नु मुख्य कारण हो।
विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की यसलाई ‘राज्यको अदूरदर्शिता र अहं’ मान्छन्। ९९ प्रतिशत सरकारी अस्पताल स्रोतसाधन र जनशक्तिको अभावमा छन्। एमआरआई, एड्भान्स सीटी स्क्यानजस्ता सुविधा छैनन्। निजीलाई बाइपास गरेर बिरामीलाई सरकारीमै जानु भन्नु नागरिकको स्वास्थ्य अधिकारमाथिको खेलवाड हो, उनले भने।
पूर्वतयारीबिना गरिएको यो निर्णयले सर्वसाधारणलाई चरम हैरानी दिएको छ। चर्को गर्मी, रोगको पीडा, सरकारी अस्पतालको अस्तव्यस्तता र निजी अस्पतालको चर्को शुल्कले गरिब नागरिकको सहज उपचार पाउने हक खोसिएको छ।
