कोशी प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाललाई नियुक्त गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष दाहाललाई प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो।
यस्तै, प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका छन्। कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम यो नियुक्ति गरिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए। भट्टराईको नियुक्ति प्रेस रजिस्ट्रार सिफारिस समितिको सिफारिसमा आधारित छ।
रजिस्ट्रार पदका लागि ९ जनाले आवेदन दिएकामा ७ जना अन्तर्वार्तामा सहभागी भएका थिए। भट्टराईसहित गोपाल काफ्ले, देवेन्द्र कार्की, बन्धु पोखरेल, नेत्रप्रसाद अधिकारी, अमृत बास्तोला र प्रभासचन्द्र झा अन्तर्वार्तामा सहभागी थिए।
मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका लागि ७ सदस्यहरू पनि नियुक्त गरी पूर्णता दिएको छ। सदस्यहरूमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर) छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। यसरी प्रतिष्ठान ११ सदस्यीय हुनेछ।
ऐनमा व्यवस्था भएअनुसार प्रतिष्ठानले कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्यमको दर्ता, नवीकरण, अनुगमन तथा अभिलेखीकरण गर्नेछ। साथै, सञ्चार माध्यमको विकास र प्रवर्द्धन तथा प्रदेशका पत्रकार र सञ्चार माध्यमका जनशक्तिको हित वृद्धि गर्नेछ।
