विराटनगरमा नेकपा एमाले प्रदेश कमिटी र संसदीय दलको संयुक्त बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बोल्नै नदिएको घटनाले पार्टीभित्रको आन्तरिक गाँठो थप बल्झिएको छ। बैठकमा एमालेका सचिव तथा कोशीका इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन पालना गर्न सांसदहरूलाई निर्देशन दिए।
बैठकमा मुख्यमन्त्री कार्कीसहित प्रदेश सभाका अधिकांश सांसद उपस्थित थिए। इन्चार्ज राईले घुमाउरो पाराले मुख्यमन्त्री कार्कीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको सहभागी सांसदहरूको भनाइ छ। ‘अध्यक्षको निर्देशन पालना हुनुपर्छ भन्ने कुराले मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने संकेत गरेको हो,’ एक सांसदले भने।
राईको निर्देशनपछि बैठक सकिएको थियो र मुख्यमन्त्री कार्कीलाई आफ्नो भनाइ राख्ने अवसर दिइएन। ‘मुख्यमन्त्री पार्टी सचिव पनि हुनुहुन्छ। कम्तीमा बोल्न दिनुपर्थ्यो,’ अर्का सांसदले गुनासो गरे।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै इन्चार्ज राईले पार्टीमा केही आन्तरिक जटिलता रहेको स्वीकारे। ‘हामी केही जटिलताहरूमाथि छलफल गरिरहेका छौँ र समाधान गरी प्रदेशलाई सहमतिको सरकार दिनेछौँ,’ उनले भने।
राईले नेतृत्व परिवर्तनको विषयलाई आन्तरिक गाँठोको संज्ञा दिँदै भने, ‘यो एमालेको आन्तरिक विषय हो, छलफलमै छौँ, तर जसले नेतृत्व गरे पनि एमालेले कोशी प्रदेश सरकारको नेतृत्व गर्छ।’ उनले मुख्यमन्त्री कार्कीसँग आफ्नो सम्बन्धमा कुनै द्वन्द्व नरहेको दाबी गरे।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अझै संसदीय दलको नेता र धारा १६८ (५) बमोजिमको मुख्यमन्त्री रहेको अडान दोहोर्याए। उनले ‘गाँठो’ फुक्ने र त्यसले ठूलो समस्या नपारिदिने विश्वास व्यक्त गरे।
कार्कीले आफूलाई मार्गप्रशस्त गर्न भनिएको भन्ने हल्लाको खण्डन गर्दै अध्यक्षको सन्देश नआएको बताए। ‘हामीबीच कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ,’ उनले भने। संसदीय दलमा ४० जना सांसद भएकाले सबै विकल्प भएको र एमालेलाई एकजुट राख्नुपर्ने उनको भनाइ थियो।
कार्कीले आफ्नो सरकारको संवैधानिक आधार बलियो रहेको र ६५-६९ सांसदको समर्थन रहेको दाबी गरे। एमाले र नेकपाबीचको तीन बुँदे सहमति नफुकेसम्म कार्यान्वयन नहुने पनि उनले बताए।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नमानेको र गठबन्धनबारे सहमति कार्यान्वयन नगरेको भन्दै मुख्यमन्त्री कार्कीविरुद्ध एमाले सांसदहरूले मोर्चाबन्दी सुरु गरेका छन्। इन्चार्ज राई र कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सांसदहरूसँग व्यक्तिगत भेटघाट गरिरहेका छन्। अध्यक्ष ओलीले ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको स्रोतको दाबी छ।
