NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशी प्रदेश सरकार विस्तार: नेकपाका चार मन्त्री र एक राज्यमन्त्रीको टुंगो

• कोशी प्रदेश सरकार विस्तारमा नेकपाका चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गिएको छ। • खिनु लङ्वा लिम्बूले मन्त्रीमण्डलको नेतृत्व गर्नेछिन् भने विभिन्न मन्त्रालयको भागबण्डा पनि टुङ्गिएको छ। • नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज दिउँसो ४ बजे हुने कार्यक्रम छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश सरकार
Share:

कोशी प्रदेश सरकारमा नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गिएको छ। मन्त्रीमा इलामकी खिनु लङ्वा लिम्बू, मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा चयन भएका छन्। राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीको नाम टुङ्गिएको नेकपाका एक नेताले बताए।

नेकपाबाट सरकारको नेतृत्व खिनु लङ्वा लिम्बूले गर्नेछिन्। नेकपा कोशी इन्चार्ज राजेन्द्र राई, दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्क नेम्वाङको संयुक्त बैठकले मन्त्रीहरूको नाम टुङ्गो लगाएको हो।

मन्त्रीहरूले पाउने मन्त्रालयको पनि टुङ्गो लागेको छ। नेकपा संसदीय दलका नेता आङ्बो र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच तीन मन्त्रालयमा सहमति जुटेको छ। नेकपाले भौतिक पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय पाउने भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि नेकपाले दाबी गरेको छ। एमालेले स्पष्ट जवाफ नदिएको नेकपाका नेताहरूले बताएका छन्। यसअनुसार, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा खिनु लङ्वा लिम्बू, सामाजिक विकास मन्त्रालयमा गीता तिम्सिना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा जीवन आचार्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गोम्बु शेर्पालाई पठाउने तयारी छ। राज्यमन्त्री दर्जीका लागि भने मन्त्रालय टुङ्गो लाग्न बाँकी छ।

मुख्यमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा हुनेछ।

योसँगै कोशी प्रदेशमा एमालेको भागमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, खानेपानी तथा सिँचाइ, स्वास्थ्य र कृषि मन्त्रालय पर्नेछ। एमाले र नेकपाबीच साउन ९ गते भएको तीन बुँदे सहमति अनुसार प्रदेश सरकार विस्तार हुन लागेको हो।

यसअघि नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले साउन २५ गते पदबाट राजीनामा दिएका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार