विराटनगर । कोशी प्रदेश सरकार विस्तार अन्तिम चरणमा पुगेको छ। नेकपा एमाले र नेकपाबीचको ३ बुँदे सहमतिपछि सरकार विस्तार हुन लागेको हो। यसअघि नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेकपाले मन्त्रीको नामावली फाइनल गरेसँगै प्रदेश सरकार विस्तार हुनेछ। दलको बैठक बसेर मन्त्रीको नाम टुंगो लगाइने र सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गरिने जनाइएको छ।
एमालेका सांसद रेवतीरमण भण्डारीले पनि सोमबार मन्त्रिपरिषद् विस्तार हुने पुष्टि गरेका छन्। एमालेले हालका मन्त्रीहरूलाई नै निरन्तरता दिने भएको छ। हाल मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित एमालेबाट ४ जना मन्त्री र १ जना राज्यमन्त्री सरकारमा छन्।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तिलचन पाठक, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, सामाजिक विकासमन्त्री रामप्रसाद मेहता र राज्यमन्त्री उमाकान्त गौतमले निरन्तरता पाउने सम्भावना छ। मन्त्रालयको कार्यक्षेत्र हेरफेर भने हुन सक्नेछ।
गठबन्धन दलको बैठकमा केही मन्त्रालयको कार्यक्षेत्र नमिलेको भन्दै नयाँ मन्त्रालय बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ। सांसद भण्डारीका अनुसार पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पर्यटन र उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट उद्योग छुट्टै बनाउने प्रस्तावमा छलफल भएको छ।
प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले मन्त्रालयको सङ्ख्या ९ मै कायम राखेर विषयवस्तु मिलाउनेबारे छलफल भइरहेको बताए। उनले पर्यटन र उद्योग क्षेत्र ओझेलमा परेको विषयमा सामान्य परामर्श भइरहेको जानकारी दिए।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या तत्काल नबढ्ने स्पष्ट पारेका छन्। उनले हाल कायम रहेका ९ वटा मन्त्रालयको सङ्ख्या नबढ्ने र जिम्मेवारीमा केही समायोजन हुन सक्ने बताए।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले र नेकपाबीच मन्त्रालय भागबन्डामा सहमति भएको बताए। उनका अनुसार एमालेले मुख्यमन्त्रीसहित ५ र नेकपाले ४ मन्त्रालय पाउने लगभग सहमति भएको छ। लिखित सहमति हुन बाँकी छ भने कुन कुन मन्त्रालय कसले पाउने भन्ने टुङ्गो लागेको छैन।
कांग्रेसले छोडेका भौतिक पूर्वाधार विकास, स्वास्थ्य, पर्यटन वन तथा वातावरण र उद्योग, कृषि र सहकारी मन्त्रालय नेकपाले पाउने सम्भावना छ।
