कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकार विस्तार र मन्त्रालय बाँडफाँटको विषयमा छलफल भएको छ। दुई दल अबको एक हप्ताभित्र सरकार विस्तार गर्ने र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ दिनभित्र विश्वासको मत लिने तयारीमा छन्।
विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको तेस्रो चरणको छलफलमा मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति जुटेको एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए। उनले यसै हप्ताभित्र मन्त्रिमण्डललाई पूर्णता दिने तयारी रहेको बताए।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफल सकारात्मक दिशामा अघि बढेको बताए। उनले भोलिसम्ममा मन्त्रालय बाँडफाँटको विषय टुंगो लाग्ने विश्वास व्यक्त गरे।
यसअघि दुई दलबीच मन्त्रालय भागबण्डामा मतभिन्नता थियो। नेकपाले सरकारमा चारवटा मन्त्रालय पाउनुपर्ने माग गरेको थियो। एमालेले तीनवटा मात्र दिन सकिने अडान राखेको थियो।
दुई दलबीच साझा न्यूनतम नीति तथा कार्यक्रम बनाउन नेकपा दलका नेता आङ्बोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ। बजेट पुनरावलोकन, अड्किएका ऐन कानुन पारित गर्ने र सरकारलाई प्रभावकारी बनाउने विषयमा पनि सहमति जुटेको छ। प्रदेश नामकरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न अन्य दल र शीर्ष नेताहरूसँग छलफल गर्न दुई दल तयार भएका छन्।
