सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत दिने भएको छ। आगजनीबाट घर, पसल गुमाएका र घाइते भएका व्यक्तिहरूलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग गरिनेछ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा विराटनगरमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको छ। बैठकले मृतक मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्यो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरियो।
सामाजिक सद्भाव र साम्प्रदायिक एकता सुदृढ गर्न राजनीतिक, सामाजिक र प्रशासनिक पक्षहरूले समन्वय गर्नेछन्। पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछन्।
सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपिलजस्ता कार्यक्रम सञ्चालन गरिनेछन्। सबै धार्मिक समुदायका संघ–संस्थाहरूले संयुक्त अपिल जारी गरी समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्नेछ।
सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाइनेछ। घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरिनेछ। घटना प्रभावित जिल्ला र आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ।
