विराटनगर । कोशी प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अमृत अर्यालले प्रदेश सरकारले चार वर्षमा देखाउने कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। प्रदेशसभामा विशेष समय लिएर बोल्दै उनले प्रदेशले विकासका ठोस आधारहरू खडा गर्न नसकेको टिप्पणी गरे।
‘पाँच वर्ष प्रदेशमा बस्यौँ, तर भोलि जनताका बीचमा जाँदा हामीले गरेका पाँच वटा मुख्य काम के–के हुन् भनेर सोध्यौँ भने गर्वका साथ देखाउने एउटै आयोजना छैन,’ उनले भने। उनले मुख्यमन्त्रीको सचिवालयमा फोन गरेर पाँच वटा गौरवका योजनाको सूची माग्दा एउटै पनि चित्तबुझ्दो उत्तर नआएको बताए। ‘एउटा कोशी टप्पुको योजना छ भनियो, त्यो पनि पूरा भएको छैन । कृषि ऋण अनुदान र एउटा रिफ्रेसमेन्ट सेन्टर भनेर जवाफ आयो । त्यो पनि सकिएको छैन । अरू देखाउने केही छैन,’ उनले भने।
सांसद अर्यालले आफ्नै दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको अभिव्यक्तिप्रति असहमति जनाए। नेता थापाले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई पूर्ण समर्थन रहने र सँगै मिलेर अघि बढ्ने बताएका थिए। अर्यालले भने सरकारलाई पूर्ण समर्थन गर्न नसकिने भन्दै गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए। ‘हाम्रो दलका नेताले सरकारलाई पूर्ण सहयोग गर्छौँ भन्नुभयो, तर मलाई त्यो कुरामा चित्त बुझेको छैन । हामीले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्नुपर्छ,’ अर्यालले भने, ‘सबै कुरामा आँखा चिम्लेर समर्थन गर्ने होइन । सरकारले गरेका नराम्रा काम र भ्रष्टाचारका विरुद्ध औँला ठड्याउनै पर्छ। सँगै मर्ने, सँगै बाँच्ने र सँगै स्वर्ग जाने भनेर कसम खाएर आएका त मिल्दैनन् । हामीले पूर्ण समर्थन गर्न सक्दैनौँ ।’
अर्यालले प्रदेशको राजनीतिमा परम्परागत शक्तिहरू कमजोर बन्दै गएको र नयाँ शक्तिहरूको उदय भइरहेको तर्फ पनि सदनको ध्यानाकर्षण गराए। जेनजी आन्दोलन र त्यसका कारण निर्वाचनमा स्थापित भएका नयाँ दलहरूले पुराना दलहरूलाई चुनौती दिएको उनको विश्लेषण थियो। ‘छ महिना अघि जन्मेको दल आज कोशी प्रदेशमा दोस्रो शक्ति बनेको छ, चार वर्ष अघिको दल पहिलो बनेको छ । हामी कांग्रेस, एमाले, नेकपाजस्ता पुराना दलहरू किन पछि पर्दैछौँ ? यसमा गम्भीर आत्मसमीक्षा जरुरी छ,’ उनले भने। जनताका साझा समस्यालाई सम्बोधन गर्न नसक्दा र पहिचानका मुद्दालाई नजरअन्दाज गर्दा यो अवस्था आएको उनको तर्क थियो।
प्रदेशका मन्त्रालयहरू अझै पनि भाडाका घरमा बस्नुपर्ने र आफ्नै स्थायी संरचना बनाउन नसक्नु लज्जास्पद भएको अर्यालले बताए। ‘हामी प्रदेशको राजधानीको विकासका कुरा गर्छौँ, तर मन्त्रालयहरू भाडामा छन् । सरकारी अफिसहरू कब्जा गरेर बसेका छौँ । आफ्नै भवन बनाउँदा भ्रष्टाचारको आरोप लाग्छ भनेर डराएर कतिन्जेल बस्ने ?,’ उनले प्रश्न गरे। आँट गरेर प्रदेशको आफ्नै संरचना निर्माण गर्न र विकासलाई गति दिन उनले सरकारलाई आग्रह गरे।
भोटेकोशी बाढीका कारण बेपत्ता भएका कोशी प्रदेशका १५७ परिवारको खोजी र उद्धारमा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए। ‘बेपत्ता भएकाहरूको प्रदेश सरकारको तर्फबाट पनि खोजी कार्य थालियोस् र उनीहरूको परिवारसँग सम्पर्क गरेर राहत र पुनःस्थापनाको जिम्मा प्रदेश सरकारले लेओस्,’ उनले भने।
सांसद अर्यालले आगामी बजेटलाई क्रान्तिकारी बनाउन र सबै दलको साझा सहमतिको आधारमा प्रदेशको विकासको मार्गचित्र कोर्न आग्रह गरे। व्यक्तिगत स्वार्थ र आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रवृत्तिले प्रदेशलाई बलियो नबनाउने भन्दै उनले सामूहिक सोचका साथ अघि बढ्न सरकार र सदनलाई अपिल गरे।
