NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशीमा नयाँ सरकार: एमाले-माओवादी गठबन्धनको गृहकार्य अन्तिम चरणमा

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ । मन्त्रालय बाँडफाँट, साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनबारे सोमबारसम्म टुंगो लाग्ने तयारी छ । वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरू बाहिरिने र मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना छ ।
Kamala Devi
Kamala Devi
7 August 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश नयाँ सरकार
Share:

कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच औपचारिक छलफल सुरु भएको छ । शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री निवासमा दुई दलका शीर्ष नेताहरूबीच भएको बैठकमा मन्त्रालय बाँडफाँट, सरकारको साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा प्रारम्भिक संवाद भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको नयाँ समीकरण अनुसार प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे सकारात्मक छलफल भएको बताए । ‘हामीले आगामी सोमबारसम्ममा सबै विषयलाई प्याकेजमै टुङ्ग्याउने गरी तयारी गरेका छौँ,’ आङ्बोले भने, ‘अब सरकार पुरानै ढर्रामा चल्दैन, दुई दलको साझा न्यूनतम कार्यक्रम बनाएर परिणाममुखी काम गर्ने गरी अघि बढ्छौँ ।’

बजेट पुनरावलोकन र पूरक बजेटको तयारी

छलफलमा हालै ल्याइएको प्रदेश बजेटमाथि पुनरावलोकन गर्ने विषयमा छलफल भएको आङ्बोले जानकारी दिए । यसअघिको सरकारले ल्याएको बजेटलाई नयाँ समीकरणको प्राथमिकता अनुसार परिमार्जन गर्ने विषयमा छलफल भएको छ । ‘बजेटलाई पूरक बजेटमार्फत लैजाने वा अन्य कुनै प्राविधिक माध्यमबाट परिमार्जन गर्ने भन्ने विषयमा हाम्रो गृहकार्य जारी छ,’ नेता आङ्बोले जानकारी दिए ।

नयाँ सरकार गठनसँगै मन्त्रालयको सङ्ख्या र जिम्मेवारीका विषयमा पनि दुई दलबीच आ–आफ्नो दाबी प्रस्तुत गर्ने तयारी छ । वर्तमान सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारीमा छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आग्रहमा केही दिन रोकिए पनि अब नयाँ समीकरण अनुसार मन्त्रिमण्डल पुनर्गठन हुने बताइएको छ । यसका लागि दुवै दलले आन्तरिक गृहकार्य गरेर अर्को बैठकमा प्याकेजमा निर्णय गर्ने सहमति गरेका छन् ।

प्रदेशको नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलन र उनीहरूको मागका विषयमा समेत बैठकमा छलफल भएको छ । एमालेले यो विषय केन्द्रसँग पनि जोडिएको भन्दै वार्ता र संवादमार्फत समाधान खोज्न लचिलो हुने संकेत दिएको छ । दुई दलबीच प्रदेशलाई राजनीतिक स्थिरता दिन पूर्ण कार्यकाल मिलेर जाने प्रतिबद्धतासमेत व्यक्त भएको छ ।

बैठकमा एमालेका तर्फबाट पार्टी सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई र नेकपा (माओवादी केन्द्र) को तर्फबाट नेता आङ्बो, पूर्वमुख्यमन्त्री राजेन्द्र राईलगायतका नेताहरूको उपस्थिति थियो ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार