NM Khabar 27 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी झडपपछि कोशी प्रदेश प्रहरी नेतृत्व फेरबदल: डीआईजी खनाललाई जिम्मेवारी

सुनसरीको देवानगञ्जमा झण्डा विवादले उग्ररूप लिँदा प्रहरी गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। यस घटनापछि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रधान कार्यालय तानेर डीआईजी शेखर खनाललाई जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरेको छ।
Kamala Devi
Kamala Devi
27 July 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश प्रहरी नेतृत्व
Share:

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा झण्डा विवादले उग्ररूप लिँदा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। यस घटनापछि कोशी प्रदेश प्रहरी नेतृत्वमा फेरबदल गरिएको छ। गृह मन्त्रालयले डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रूपमा सरुवा गरेको छ।

यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ। देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनापछि प्रदेश प्रहरी नेतृत्वमा फेरबदल गरिएको हो।

घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

आइतबार राति दुई समूहबीच झडप हुँदा प्रहरीले २५ राउण्ड हवाई फायर गरेको थियो। घटनामा नौ जना सर्वसाधारण, नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरी बलका पाँचजना गरी कुल २४ जना घाइते भएका थिए।

अनलाइनखबरका अनुसार, झण्डाको विवादबाट सुरु भएको यो झडपमा सुरक्षा निकायका प्रमुखहरू बिदामा थिए। सुनसरीमा सशस्त्र प्रहरीका कमान्डर दुई सातादेखि रिक्त थिए भने नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी बिदामा थिए। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा थिए।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय फिर्ता बोलाएर संखुवासभाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार