कोशी प्रदेश लोकसेवा आयोगको रिक्त दुई सदस्य पदमा नियुक्ति भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले यो जानकारी दिएको हो। नेकपा (माओवादी केन्द्र) निकट भीमबहादुर फुदुङ लिम्बु र नेपाली कांग्रेस निकट रमा थापा नियुक्त भएका हुन्।
हाल प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको समीकरण छ। भविष्यको राजनीतिक सहकार्यलाई ध्यानमा राखेर नेकपालाई आयोगमा भाग दिइएको हो। एमालेका एक नेताले सरकारमा सहकार्य गर्ने सहमति भइसकेकाले यो भागबण्डा भएको पुष्टि गरे।
ती नेताका अनुसार, एमालेको बैठकपछि नेकपा सबै प्रदेश सरकारमा सहभागी हुने सम्भावना छ। यो नियुक्ति सत्ता सहकार्यको सुरुवात हो।
प्रदेश लोकसेवा आयोग ऐन अनुसार, मुख्यमन्त्रीको अध्यक्षतामा सिफारिस समिति रहन्छ। समितिमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन्। यसै समितिले अध्यक्ष र सदस्यको नाम सिफारिस गर्छ।
हाल कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की छन्। सभामुख अम्बर बहादुर विष्ट र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङबो (नेकपा) हुन्।
नवनियुक्त दुवै सदस्यको शपथ ग्रहण भोलि (बिहीबार) बिहान ८ः ३० बजे हुनेछ। प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
