कोशी प्रदेश सरकारको कुल आय ६ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ। आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको कुल आय ३० अर्ब ३८ करोड ४७ लाख रुपैयाँमा सीमित भयो। यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३ अर्ब २८ करोडले कमी हो।
आर्थिक वर्ष २०७६/०७७ यता प्रदेशको कुल आय यति कम भएको यो पहिलो पटक हो। तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको कुल आय २८ अर्ब २३ करोड थियो। त्यसपछिका वर्षमा यो ३१ अर्बभन्दा माथि थियो। आर्थिक वर्ष २०७७/०७८ मा ३२ अर्ब ५ करोड, २०७८/०७९ मा ३७ अर्ब १४ करोड, २०७९/०८० मा ३५ अर्ब ९६ करोड, २०८०/०८१ मा ३२ अर्ब २५ करोड र २०८१/०८२ मा ३३ अर्ब ६६ करोड रुपैयाँ कुल आय थियो।
प्रदेश सरकारको गत असार मसान्तसम्मको विवरण अनुसार, कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्व ४ अर्ब ७० करोड ८४ लाख रुपैयाँ छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को ४ अर्ब ८९ करोडको तुलनामा १९ करोडले कम हो।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा २६ अर्ब २५ करोड २५ लाख रुपैयाँ खर्च गर्यो। सो वर्षका लागि ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। कुल आय ३० अर्ब ३८ करोड ४७ लाख रुपैयाँ थियो। प्रदेशको सञ्चित खातामा ४ अर्ब १३ करोड २१ लाखभन्दा बढी रकम बचत छ।
प्रदेश सरकारले पहिलो बजेट २०७४ साल चैत २९ गते १ अर्ब २ करोडको प्रस्तुत गरेको थियो। यो बजेट प्रशासनिक खर्चका लागि मात्र थियो। आर्थिक वर्ष २०७५/०७६ मा ३५ अर्ब ९४ करोडको बजेटमा २१ अर्ब ३० करोड खर्च भयो। आर्थिक वर्ष २०७६/०७७ मा ४२ अर्ब २० करोडको बजेट विनियोजन गरिए पनि खर्च २९ अर्ब ८४ करोडमा सीमित रह्यो।
आर्थिक वर्ष २०७७/०७८ मा ४० अर्ब ९० करोडको बजेटमा २७ अर्ब ९६ करोड खर्च भयो। आर्थिक वर्ष २०७८/०७९ मा बजेट ३२ अर्ब ७४ करोडमा झारियो, जसमध्ये २९ अर्ब ९७ करोड खर्च भयो। आर्थिक वर्ष २०७९/०८० मा बजेट पुनः बढाएर ३९ अर्ब ७४ करोड पुर्याइयो, जसमा ३० अर्ब ७६ करोड (७७.०३ प्रतिशत) खर्च भयो।
आर्थिक वर्ष २०८०/०८१ मा बजेट ३६ अर्ब ८१ करोड थियो, जसमा २८ अर्ब ३ करोड (७६.१२ प्रतिशत) मात्र खर्च भयो। आर्थिक वर्ष २०८१/०८२ मा बजेट ३५ अर्ब २७ करोड थियो, जसको कुल खर्च २८ अर्ब १८ करोड (८०.२३ प्रतिशत) भयो। प्रतिशत बढे पनि वास्तविक खर्चको परिमाण भने घट्यो। आर्थिक वर्ष २०८२/०८३ मा बजेट ३६ अर्ब ९ करोड भए पनि खर्च जम्मा २६ अर्ब २५ करोड मात्र भयो।
कुल बजेट खर्चसँगै पुँजीगत खर्च पनि घट्दै गएको छ। आर्थिक वर्ष २०७९/०८० मा १८ अर्ब ११ करोड पुँजीगत खर्च भएकोमा २०८०/०८१ मा यो रकम घटेर १६ अर्ब ३४ करोडमा आइपुग्यो। आर्थिक वर्ष २०८१/०८२ मा विकास खर्च अझै घटेर १३ अर्ब ८२ करोडमा सीमित भयो। आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा पुँजीगततर्फ जम्मा १२ अर्ब ३८ करोड खर्च भएको छ, जबकि बजेट १७ अर्ब १४ करोड विनियोजन गरिएको थियो।
