कुवेतमा इरानी मिसाइल आक्रमणमा परी ज्यान गुमाएका ४४ वर्षीय नेपाली कामदार सोमकुमार तामाङको पार्थिव शरीर आइतबार बिहान नेपाल आइपुगेको छ।
तेह्रथुम जिल्लाका तामाङको शव मध्यरातमा कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
सन् २०२२ देखि कुवेतमा चालकको रूपमा कार्यरत तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल बज्रिँदा मृत्यु भएको थियो।
पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली कामदार हुन्।
कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग समन्वय गरी अन्तिम संस्कारका लागि शव बुझाउने प्रक्रिया पूरा गरेको थियो।
