बेँसीसहर-चामे सडकखण्डको नासो गाउँपालिका-३ खोत्रोमा खसेको विशाल चट्टानसहितको पहिरोले यातायात ठप्प पारेको छ।
दिनभरको प्रयासपछि पनि सडकको बीचमा खसेको भीमकाय चट्टान सामान्य उपकरणले हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पौडेलका अनुसार अब नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक खुलाउने प्रयास भइरहेको छ।
सडक अवरुद्ध हुँदा पदयात्रामा निस्किएका पर्यटकसहित स्थानीय बाटोमै अलपत्र परेका छन्। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले तत्काल सडक सञ्चालनमा ल्याउनुपर्ने बताए।
पहिरो हटाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली घटनास्थलमा खटिएको छ। डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले चट्टानमा ड्रिलिङ भइरहेको जानकारी दिए।
उक्त खण्डका अन्य स्थानमा गएका साना पहिरो भने पन्छाइसकिएको विष्टले बताए। मर्स्याङ्दी करिडोरअन्तर्गत पर्ने यो सडक वर्षायाममा जोखिमपूर्ण हुने गरेको छ।
