अर्थमन्त्री वाग्लेले किन ल्याए ऐन खारेजको विधेयक?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा व्याप्त ‘ओभर रेगुलेसन’ र कानूनी दोहोरोपना अन्त्य गर्न ‘अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ ल्याइएको बताएका छन् ।
प्रतिनिधि सभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले भने, “यो विधेयकले मुलुकको व्यावसायिक लागत घटाउनेछ । यसले कानुनी दोहोरोपनाको अन्त्य गर्नेछ ।”
खारेज हुने ऐन र अपेक्षा
विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले हाल सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी ऐनहरू खारेज गर्ने प्रस्ताव गरिएको जानकारी दिए । उनले यो कदमले समग्र आर्थिक प्रणालीलाई सुव्यवस्थित पार्ने बताए । यसले लगानीमैत्री वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
विधेयकको अर्को चरण
प्रतिनिधि सभाबाट पारित भएपछि यो विधेयक राष्ट्रिय सभामा पेस गरिनेछ । त्यहाँबाट पनि पारित भएपछि यसले कानुनी रुप लिनेछ । उल्लिखित ऐनहरू खारेज हुनेछन् ।
