NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेसमा गर्मी र लोडसेडिङको दोहोरो मार: नागरिक आक्रोशित

मधेसमा चर्को गर्मीका बीच बारम्बारको अघोषित विद्युत् कटौतीले जनजीवन कष्टकर बनेको छ। नागरिकहरूले गर्मीमा विद्युतीय उपकरण चलाउन नपाउँदा दैनिकी प्रभावित भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्राधिकरणले समस्या समाधानका लागि नयाँ ट्रान्सफर्मर जडान गर्ने परियोजना सुरु गरेको जनाएको छ।
Kamala Devi
Kamala Devi
18 June 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
Share:

जनकपुरधाम । उखरमाउलो गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारले मधेसवासीको जनजीवन कष्टकर बनेको छ। चर्को गर्मीमा बारम्बार हुने अघोषित विद्युत् कटौतीले नागरिकमा आक्रोश बढाएको छ।

जलेश्वर नगरपालिका–२ की जानकी साह गर्मीले हायलकायल भएको गुनासो गर्छिन्। ‘पटक–पटक विद्युत् जाँदा दिक्क भइसक्यौँ,’ उनले भनिन्, ‘वितरण केन्द्रमा फोन गर्दा प्राविधिक समस्या देखाउँदै मर्मत भइरहेको एउटै जवाफ आउँछ।’

मधेसमा हरेक वर्ष गर्मीयाममा यस्तै समस्या दोहोरिन्छ। नियमित विद्युत् आपूर्ति कहिलेदेखि हुन्छ भन्ने स्पष्ट उत्तर कतैबाट नपाइएको उनको गुनासो छ।

जलेश्वर–३ का राजु पाण्डे र वडा नम्बर ४ का सुरेश झाले पनि यस्तै गुनासो गरेका छन्। पाण्डे भन्छन्, ‘वास्तवमै प्राविधिक समस्या हो भने दीर्घकालीन समाधान खोजिनुपर्छ। नागरिकलाई अन्धकारमा राखेर प्राधिकरण पन्छिन मिल्दैन।’

विद्युत् कटौतीले घरायसी कामकाज, व्यापार व्यवसाय, स्वास्थ्य सेवा र दैनिक जीवन गम्भीर रूपमा प्रभावित भएको झाले बताए। उनले नेपाल विद्युत् प्राधिकरणसँग नियमित मर्मतसम्भार, पूर्वसूचना प्रवाह र प्रभावकारी व्यवस्थापनको माग गरे।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामी गर्मीले बढी प्रभावित भएका छन्। पङ्खा, कुलरजस्ता विद्युतीय उपकरण चलाउन नपाउँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।

जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन कुमार सिंहले नागरिकको गुनासो जायज भएको स्वीकार गरे। समस्या समाधानका लागि प्रयास भइरहे पनि स्थानीयस्तरमा केही व्यावहारिक कठिनाइ रहेको उनले बताए।

‘हामी रौजामा ट्रान्सफर्मर जडान गर्न खोजिरहेका छौँ, तर स्थानीयको सहयोग नपाउँदा काम प्रभावित भएको छ,’ सिंहले भने। ३३ केभी लाइन जडान भएपछि समस्या कम हुने उनको भनाइ छ। बाटो विस्तारका कारण लाइन काट्नुपर्ने बाध्यता छ। अत्यधिक माग र एउटै ३३ केभी स्रोतमा निर्भरताले समस्या निम्त्याएको छ। अर्को स्रोत थपिएपछि समस्या घट्ने उनले दाबी गरे।

मधेस प्रदेशको राजधानी जनकपुरधाममै अघोषित विद्युत् कटौती बढेपछि स्थानीयवासी आक्रोशित छन्। जनकपुरधाम उपमहानगरपालिका–८ का रोशन राउतले बिनासूचना लाइन काट्ने प्रवृत्ति बढेको भन्दै आक्रोश व्यक्त गरे।

वडा नम्बर १० का निकेश कर्णले पूर्वजानकारीबिना हुने कटौतीले विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको गुनासो गरे।

मधेस प्रदेशमा २३ वटा वितरण केन्द्रमार्फत विद्युत् प्रवाह हुन्छ। प्रदेशभरिबाट गुनासो बढेपछि प्राधिकरण मधेस प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवले अत्यधिक गर्मीले ट्रान्सफर्मर तथा मेसिनहरू तातेर बिग्रने गरेको बताए।

‘मौसम अनुकूल छैन, हाम्रा पुराना संरचनाले अत्यधिक लोड धान्न सकिरहेका छैनन्,’ यादवले भने। समस्या समाधानका लागि प्रदेशभर करिब ४ अर्ब रुपैयाँको लगानीमा ५२५ वटा नयाँ ट्रान्सफर्मर जडान गर्ने परियोजना सुरु भएको उनले जानकारी दिए।

उपभोक्ताका गुनासा सुन्न आफू राति १२ बजेसम्म कल सेन्टरमै रहने दाबी गर्दै यादवले विगतको तुलनामा सुधार हुँदै गएको र आगामी दिनमा थप सुधार हुने अपेक्षा व्यक्त गरे।

करिब ६४ लाख जनसंख्या भएको मधेस प्रदेशमा विद्युत् सेवाको नियमितता उद्योग, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिसँग प्रत्यक्ष जोडिएको छ। नागरिकले तत्काल भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन माग गरेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार