मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मधेसमा वर्षाले रोपाइँलाई गति दियो, किसानमा आशा

केही साताको खडेरीपछि मधेसमा परेको वर्षाले किसानमा नयाँ आशा जगाएको छ। समयमै पानी परेपछि धान रोपाइँले गति लिएको छ भने आकाशे पानीमा निर्भर किसान पनि खेततर्फ फर्किन थालेका छन्। हालसम्म मधेस प्रदेशमा करिब ३३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ, जसमा सप्तरीमा ३८% र सिराहामा ४५% रोपाइँ भएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
मधेस धान रोपाइँ
Share:
१९३

मधेसका किसानमा पछिल्ला दुई–तीन दिनदेखिको वर्षाले नयाँ आशा जगाएको छ। खडेरीले चिन्तित बनेका उनीहरूका लागि समयमै पानी परेपछि धान रोपाइँले गति लिएको छ। आकाशे पानीको भरमा खेती गर्ने किसान पनि खेततर्फ फर्किन थालेका छन्।

यसअघि कुलो, नहर, पम्पसेट वा मोटर सिञ्चित क्षेत्रमा मात्र रोपाइँ भइरहेको थियो। वर्षाको अभावले आकाशे पानीमा निर्भर खेत बाँझै थिए। अहिलेको वर्षाले ती खेतमा समेत रोपाइँ सुरु गर्ने वातावरण बनेको छ।

महोत्तरीको पिपरा गाउँपालिकाका किसान सोहन ठाकुर वर्षाले किसानको अनुहारमा खुसी फर्काएको बताउँछन्। ‘अझ दुई–चार दिन राम्ररी वर्षा भएमा रोपाइँ हुन नसकेका अधिकांश खेतमा धान रोप्न सकिन्छ,’ उनले भने।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका किसान सीताराम यादव वर्षासँगै गीत गाउँदै रोपाइँमा व्यस्त छन्। ‘यस्तै पानी केही दिन परिरहे मोटर र बोरिङको भर पर्दैन। हामीजस्ता साना किसानका खेत पनि सजिलै रोप्न सकिन्छ,’ उनले भने।

तर, सबै किसानको समस्या समाधान भएको छैन। जनकनन्दिनी गाउँपालिकाका किसान राजकिशोर राउत मजदुर अभावले रोपाइँ प्रभावित भएको बताउँछन्। ‘मजदुरको प्रतीक्षा गर्दागर्दै पानी रोकियो भने खेत बाँझै रहने चिन्ता छ,’ उनले भने।

निरन्तर वर्षासँगै रोपाइँ गर्न बाँकी किसान खेतमा जुटेका छन्। खोला–खोल्सामा पानीको बहाव बढेको छ। दुई–चार दिनको वर्षाले अत्यधिक गर्मीबाट सर्वसाधारणले राहत पाएका छन्। तर, मौसम बदलिएसँगै विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार मधेस प्रदेशमा हालसम्म करिब ३३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। सप्तरीमा ३८ प्रतिशत, सिराहामा ४५ प्रतिशत, धनुषामा ३५ प्रतिशत, महोत्तरीमा २५.३९ प्रतिशत, सर्लाहीमा ३०.४१ प्रतिशत, रौतहटमा १६ प्रतिशत, बारामा २२ प्रतिशत र पर्सामा ४० प्रतिशत रोपाइँ भएको छ।

वर्षाले निरन्तरता पाए धान रोपाइँ र उत्पादन बढ्ने अपेक्षा किसानले गरेका छन्।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार