रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको विनाशकारी बाढीले मधेश प्रदेशका दुई व्यक्तिको शव पहिचान गराएको छ। परिवारले अनुहार, कपडा र शरीरका विशेष संकेत हेरेर शवको सनाखत गरेका हुन्।
महोत्तरीका गौशाला नगरपालिका–१ का कुशल खपाङ्गी मगरको शव रसुवामा भेटिएको थियो। सप्तरीको खडक नगरपालिका–५ का सन्तोष चौधरीको शव पूर्वी नवलपरासीमा फेला परेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीले १९५ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ३३ जना सम्पर्कमा आइसकेका छन्। दुई जनाको शव फेला परेको छ। अझै १६२ जनाको अवस्था अज्ञात छ।
सबैभन्दा बढी सप्तरीबाट ४९ जना सम्पर्कविहीन भएकामा एक जना मात्र सम्पर्कमा आएका छन्। पर्साबाट ४० मध्ये दुई, बाराबाट २५ मध्ये दुई, रौतहटबाट १९ मध्ये छ, सर्लाहीबाट २१ मध्ये तीन, महोत्तरीबाट १७ मध्ये सात, धनुषाबाट १४ मध्ये सात र सिरहाबाट १० मध्ये दुई जना सम्पर्कमा आएका छन्।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी ओमप्रकाश खनालका अनुसार मंगलबार साँझ ५ बजेसम्म प्रहरी कर्मचारीतर्फ १० जना सम्पर्कविहीनमा सात जना सम्पर्कमा आएका छन्। सेनाका तीनमध्ये एक जना सम्पर्कमा आएका छन्।
देशभर बाढी तथा विपद् घटनामा ९५ शव परिवारलाई हस्तान्तरण गरिएको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले यो जानकारी दिए। देशभर १ हजार ११८ शव फेला परिसकेका छन्। भोटेकोशी बाढीबाट बढी प्रभावित रसुवामा मात्रै ११९ शव फेला परेका छन्।
शव गलेको वा चिन्न नसकिने अवस्थामा रहेकाले पहिचानमा कठिनाइ भएको छ। सरकारले डीएनए परीक्षण गरी शव पहिचान गरिरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीलाई डीएनए दाताको सूचीमा राखेको छ।
