जनकपुर । मधेस प्रदेश सरकारले प्रदेश मातहतका प्रहरी कार्यालयहरूलाई साढे चार करोड रुपैयाँभन्दा बढी मूल्यका १२ वटा गाडी हस्तान्तरण गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेशका आठ जिल्लाका प्रहरी कार्यालयहरूलाई यी गाडीहरू प्रदान गरेको हो।
प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई एक-एक थान गाडी दिइएको छ। यसका अतिरिक्त सर्लाही, रौतहट, चन्द्रपुर र गरुडाका ईलाका प्रहरी कार्यालयलाई थप एक-एक वटा गाडी दिइएको छ। यसरी कुल १२ वटा पिकअप प्रहरी भ्यान हस्तान्तरण गरिएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार हस्तान्तरण गरिएका गाडीहरुको कुल मूल्य ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ। प्रति पिकअप गाडीको लागत ३९ लाख ५ हजार रुपैयाँ रहेको छ। यी गाडीहरुमा अपर इमरजेन्सी लाइट, साइरन, सेफ्टि बक्स किट, टुलबक्स र ट्राफिक लाइट हाइलाइटर स्टिक जस्ता सुविधाहरू समावेश छन्।
मधेसका गृहमन्त्री फकिरा महतोले प्रदेश मातहतका प्रहरी युनिटहरूको कामलाई सहज बनाउने उद्देश्यले यी गाडीहरु हस्तान्तरण गरिएको बताए। उनले अबको केही समयपछि थप ७० वटा मोटरसाइकलहरु सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई वितरण गर्ने तयारी भइरहेको जानकारी दिए।
मन्त्री महतोले प्रदेश सरकार सुरक्षा निकायलाई चुस्त दुरुस्त बनाउन सधैँ सकारात्मक रहेको र सम्पूर्ण सुरक्षा निकायलाई जनताको सेवालाई प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिए। उनले सुरक्षा व्यवस्थापनका लागि आफू र मन्त्रालय २४ घण्टा उपलब्ध रहने प्रतिबद्धता पनि व्यक्त गरे।
