जनकपुरधाम । खेतीपातीको मुख्य समयमा रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता मधेस प्रदेशका किसानहरूका लागि नौलो होइन । यस वर्ष पनि चैते धान, मकै र उखु खेतीका लागि आवश्यक पर्ने रासायनिक मल समयमा आपूर्ति नहुँदा किसानहरू निराश बनेका छन् । सिजनमै मल नपाउँदा उत्पादन घट्ने चिन्ताले उनीहरू पिरोलिएका छन् ।
सरकारले कृषिलाई प्राथमिकता दिएको दाबी गरे पनि किसानले समयमा मल पाउन नसकेको धनुषाका किसान रामप्रसाद साहले गुनासो गरे । ‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौँ भन्छ, तर अर्कोतर्फ कृषकलाई चाहिने मल समयमै उपलब्ध गराउन सक्दैन,’ उनले भने ।
मलको अभावसँगै कालोबजारीको बिगबिगी
सर्लाहीको नवलपुरका किसान अशोक झाले बजारमा मलको अभावसँगै कालोबजारी बढेको गुनासो गरे । समयमै मल नपाउँदा उखु रोप्न नसकिएको उनले बताए । धनुषाको नगराइन नगरपालिका निवासी ज्योतिष चन्द्र झाले पनि गत वर्षझैँ यस वर्ष पनि मल अभाव दोहोरिएको बताए । ‘मलको चरम अभाव छ । कालोबजारी पनि बढेको छ,’ उनले भने, ‘अघिल्ला वर्षहरूमा हामी सीमा पारीबाट मल ल्याएर केही व्यवस्थापन गर्थ्यौँं, तर सीमा क्षेत्रमा कडाइ बढेपछि यस वर्ष झन् समस्या बढेको छ ।’
किसानहरूले समयमै मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रहसमेत गरेका छन् । रासायनिक मल प्रयोग नगरी बालीको उत्पादकत्व बढाउन नसकिने बाध्यता किसानमा छ ।
सरकारी निकायमा मौज्दात न्यून
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधाममा रोपाइँको समय नजिकिँदै गर्दा पनि आवश्यक डीएपी र युरिया मलको मौज्दात आवश्यकता बमोजिम छैन । यसले गर्दा किसानले समयमा मल पाउने सम्भावना न्यून देखिएको छ ।
मधेस प्रदेशका लागि चाहिने मलको अनुपातमा कम उपलब्ध भएकाले अहिले मलको अभाव देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशका बाली विकास अधिकृत रविन बस्नेतले बताए । ‘मलको परिपूर्र्तिका लागि सोझै खरिद गर्ने अवस्था नरहेकाले साल्ट ट्रेडिङ र कृषि सामग्री मार्फत औपचारिक/अनौपचारिक सम्पर्क गर्दा बाहिरबाट आउने सम्भावन न्यून रहेको खबर पाएका छौँ,’ उनले भने, ‘संघीय मन्त्रालयबाट वैकल्पित उपाय अपनाउन भनिएकाले सोही अनुसार काम अगाडि बढाएको छौँ ।’
आपूर्तिभन्दा माग धेरै
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश वीरगंजका सूचना अधिकारी दिनेश शर्माका अनुसार मुलुकका लागि जति रासायनिक मल चाहिएको छ, सो अनुसार आपूर्ति हुन नसक्दा अभाव बढेको हो । ‘माग र आपूर्ति समान छैन । मुलुकका लागि १७ देखि १८ लाख मेट्रिक टन मलको आवश्यकता छ, तर सरकारले ३ देखि ४ लाख मेट्रिक टन रासायनिक मलमात्र ल्याउन सकेकाले अभाव सिर्जना हुँदै आएको छ,’ उनले भने ।
शर्माका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण खरिद गरिएको सामान पनि रोकिएको अवस्था छ । यद्यपि पटक–पटक युरिया मल ल्याइएकाले यस वर्ष युरिया मलको अभाव नहुने, तर डीएपी मलको अभाव देखिन सक्ने उनको भनाइ छ ।
कृषि सामग्री प्रादेशिक कार्यालयको साउन १ देखि चैत ३० गतेसम्मको तथ्याङ्क अनुसार युरिया मल २७ हजार ४३१ मेट्रिक टन, डीएपी १० हजार २१५ मेट्रिक टन, पोटास ४ हजार ७५८ मेट्रिक टन, चुन ५२ मेट्रिक टन लगायत अन्य मल गरी जम्मा ४२ हजार ६२८ मेट्रिक टन मल स्टक छ । यो मौज्दातले मधेस प्रदेशको माग धान्न पर्याप्त नभएको स्पष्ट हुन्छ ।
