NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेसमा कुपोषण: भान्साघर व्यवस्थापन र बानीव्यहार परिवर्तनमा मुख्यमन्त्रीको जोड

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कुपोषण समस्या समाधानका लागि नागरिकको बानीव्यहार र भान्साघर व्यवस्थापनमा सुधार आवश्यक रहेको बताएका छन्। लालगढमा सुरु भएको पोषण नीति संवाद तथा शिखर सम्मेलनले ठोस निष्कर्ष दिने अपेक्षा छ।
NM Khabar
NM Khabar
12 May 2026, 2:32 pm १ मिनेट पढाइ
आकार:
Share:

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा व्याप्त कुपोषणको समस्या समाधानका लागि नागरिकको बानीव्यहारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन्। उनले हरेक घरको भान्साघर व्यवस्थित गर्न सके कुपोषणको अवस्थामा ठूलो सुधार आउनेमा जोड दिए।

मुख्यमन्त्री यादवले मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा सोमबारदेखि सुरु गरेको तीनदिने ‘मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन्।

खाद्य सामग्री उत्पादनमा मधेस अगाडि भए पनि उत्पादित सामग्रीको सही उपयोग नहुँदा कुपोषण गम्भीर समस्या बनेको उनको भनाइ छ। उनले स्थानीय पोषणयुक्त खानाको पहिचान र प्रयोगमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले तीनदिने सम्मेलनले कुपोषणका कारण देखिने पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता जस्ता समस्या निदानका लागि ठोस निष्कर्ष दिने विश्वास व्यक्त गरे। मन्त्री रायले पोषण कार्यक्रमको अनुगमनलाई प्रभावकारी बनाउन कार्यतालिका निर्माणको सुझाव दिए।

मधेस प्रदेश सरकारका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवका अनुसार सम्मेलनमा पोषण नीतिबारे विज्ञहरूबीच गहन संवाद गरी रणनीतिक निष्कर्ष निकालिनेछ। प्रदेशका सबै पोषणसम्बद्ध सरकारी कार्यालयका प्रमुख, प्रादेशिक अस्पतालका प्रमुख, पोषणविद् र आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख तथा पोषण अधिकृतहरूको सहभागिता छ।

विज्ञहरूको सुझावका आधारमा प्रदेशको आगामी पोषण रणनीति तय गरिने मन्त्रालयले जनाएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार