मंगलबार सर्लाहीको लालबन्दीस्थित होटलहरूमा मधेसका गृहमन्त्री फकिरा महतोको आकस्मिक अनुगमनमा अधिकांशले गुणस्तरहीन खाना खुवाएको र भान्सा फोहोर भेटिएको छ।
आफ्नै गृहजिल्ला सर्लाहीमा मन्त्री महतोले लालबन्दी बजारका होटलहरूको भान्सामै प्रवेश गरी निरीक्षण थालेका थिए। अनुगमन साँझसम्म निरन्तर चल्यो।
अनुगमनका क्रममा अधिकांश होटलले सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाएको र भान्सामा सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइएको मन्त्री महतोले बताए। केही होटलमा खाद्य सामग्री व्यवस्थापन र सरसफाइको अवस्था सन्तोषजनक नभएको उनले बताए।
बजारमा मन्त्री स्वयं उपस्थित भएर अनुगमन गरेपछि स्थानीयवासीले यसको स्वागत गरे। तर, केहीले नियमित अनुगमन र प्रभावकारी कार्यान्वयनमा जोड दिए।
यस अनुगमनलाई ‘नौटङ्की’ भन्दै शासापुर–२ का अशोक झाले भने, ‘अनुगमन राम्रो कुरा हो, तर यसको कार्यान्वयन मुख्य विषय हो। समय–समयमा अनुगमनसँगै प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ।’
उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्न नहुने लालबन्दी–२ का सुनिल पोखरेलले बताए। होटलहरूले सरसफाइमा ध्यान नदिएको र बासी खाना बिक्री गरेको गुनासो उनले गरे। मन्त्री महतोको पहलको प्रशंसा गर्दै उनले स्थानीय सरकारलाई पनि यस्ता अनुगमन निरन्तरता दिन र प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे।
मन्त्री महतोले सर्लाहीमा मात्र नभई मधेस प्रदेशभरिका होटल तथा खाद्य व्यवसायमा अनुगमन अभियान सञ्चालन गरिने जानकारी दिए। उनले प्रदेशभरिका होटल व्यवसायीलाई खाद्य गुणस्तर, सरसफाइ र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराए।
