आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशको आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतामा केन्द्रित हुनेछ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले बजेट उत्पादनमुखी, आत्मनिर्भर र विकासोन्मुख मधेश निर्माणको आधार बन्ने बताए।
जनकपुरधाममा आयोजित ‘मधेस प्रदेशको आगामी आवको बजेट तर्जुमा’सम्बन्धी अन्तरक्रियामा यादवले सीमित स्रोतसाधनका बाबजुद बजेट आर्थिक विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि र पूर्वाधार विकासमा केन्द्रित रहने उल्लेख गरे। उनले बजेटलाई केवल खर्च गर्ने माध्यम नभई आर्थिक तथा सामाजिक रूपान्तरणको आधारका रूपमा प्रयोग गरिने बताए।
प्रदेशको आर्थिक अवस्था, राजस्व, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण र विकासका चुनौतीलाई मध्यनजर गर्दै यथार्थपरक बजेट ल्याइने उनको भनाइ थियो। सरोकारवाला निकाय, निजी क्षेत्र, विकासविद्, नागरिक समाज, स्थानीय तह र जनप्रतिनिधिबाट प्राप्त सुझावलाई बजेटमा समेटिने प्रतिबद्धता उनले व्यक्त गरे।
अर्थमन्त्री युवराज भट्टराईले आगामी बजेटलाई उत्पादनमुखी, जनमुखी, उत्तरदायी र परिणाममुखी बनाउने बताए। बजेट निर्माणका क्रममा प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्भव भएसम्म समेटिने उनको भनाइ थियो। प्रदेशको आर्थिक अनुशासन कायम राख्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा सरकार अघि बढेको उनले जानकारी दिए।
