जनकपुरधाम । मधेश प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पहिलो चरणमा छपाइ भएका ३०८१ स्मार्ट कार्ड लाइसेन्स वितरणका लागि तयार रहेको जानकारी दिइन्।
यातायात व्यवस्था कार्यालय, मधेश प्रदेशले जनकपुरधाममा पत्रकार सम्मेलन गरी स्मार्ट कार्ड हस्तान्तरण गरेसँगै लाइसेन्स वितरण प्रक्रिया आरम्भ भएको हो। यसबाट प्रदेशका नागरिकलाई सहज र छिटो सेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्मार्ट कार्डमा सवारी चालकको सम्पूर्ण विवरण सुरक्षित रहनेछ। यसले प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यो कदमले मधेश प्रदेशमा यातायात व्यवस्थापनलाई आधुनिकिकरण गर्ने दिशामा महत्वपूर्ण पाइला हो।
