मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाबीच नयाँ सत्ता समीकरण बनेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री कृष्ण यादवले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
केन्द्रको सहमतिअनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णयबमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार बनेको हो।
मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ। एमालेका तर्फबाट मोहम्मद समिमलाई विना विभागीय मन्त्रीमा नियुक्त गरियो। उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री यादवले आज (शुक्रबार) प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी रहेको एमाले मधेस प्रदेशसभाका संसदीय दलका नेता सरोजकुमार यादवले बताए। ‘राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन बनेको छ। मन्त्रालय बाँडफाडको विषयमा छलफल हुन बाँकी छ,’ उनले भने।
जनमत पार्टीले यसअघि नै सरकारबाट समर्थन फिर्ता लिएको थियो। तर, उसका मन्त्रीहरूले राजीनामा दिएका थिएनन्। एमाले र नेकपालाई साथमा लिएर सरकार पुनर्गठन गर्ने तयारी भएपछि जनमतका मन्त्रीहरूले राजीनामा दिएका हुन्।
