मधेस प्रदेशका १३६ स्थानीय तहमा वर्षे धान खेतीका लागि युरिया र डीएपी मल वितरण सुरु भएको छ। प्रदेश मन्त्रिपरिषद्को जेठ २७ गतेको निर्णयअनुसार कुल १३,९३८ मेट्रिक टन मल बाँडफाँट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बाँडफाँट गरिएको मलमध्ये ७,३२८ मेट्रिक टन युरिया र ६,६१० मेट्रिक टन डीएपी छ। कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया र साल्ट ट्रेडिङ कर्पोरेसनबाट डीएपी मल प्राप्त गरी स्थानीय तहमा पठाइएको हो।
मन्त्रालयका प्रवक्ता मनिषकुमार पालले केन्द्र सरकारसँग १० हजार मेट्रिक टन मल माग गरिएकोमा हालसम्म २ हजार मेट्रिक टन मात्र प्राप्त भएको बताए। प्राप्त मल र प्रदेशसँग मौज्दात रहेको मल समायोजन गरी वितरण गरिएको उनको भनाइ छ। आवश्यकता परे थप मल पठाउने आश्वासन केन्द्रले दिएको छ।
सबैभन्दा बढी सप्तरीका १८ स्थानीय तहलाई ९७५ मेट्रिक टन युरिया र १,०३५ मेट्रिक टन डीएपी मल वितरण गरिएको छ। सिराहाका १७ स्थानीय तहमा १,०७२ मेट्रिक टन युरिया र १,१३७ मेट्रिक टन डीएपी, धनुषाका १८ स्थानीय तहमा ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डीएपी, र महोत्तरीका १५ स्थानीय तहमा ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डीएपी मल बाँडिएको छ।
सर्लाहीका २० स्थानीय तहमा १,०९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डीएपी, रौतहटका १८ स्थानीय तहमा ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डीएपी, बाराका १६ स्थानीय तहमा ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डीएपी, र पर्साका १४ स्थानीय तहमा ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डीएपी मल वितरण गरिएको मन्त्रालयले जनाएको छ।
