म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सुरक्षागार्ड दीपक बरुवाल (खेमराज) को मृत्यु भएको छ। पहिरोमा पुरिएका बरुवालको शव कार्यस्थलमै भेटिएको छ।
बिहान ३:३५ बजेतिर विद्युतगृह माथिबाट खसेको ढुङ्गा र माटोसहितको पहिरोले उपकरणमा क्षति पुर्याएको छ। यस घटनापछि आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरी बलले डोजर प्रयोग गरी बरुवालको शव निकालेको थियो। शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
पहिरो खस्दा विद्युतगृहमा कार्यरत एक जना प्राविधिक घाइते भएका छन्। झ्यालबाट हाम फालेर ज्यान बचाएका इलेक्ट्रिकल ओभरसियर सुरेन्द्र विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ। सिफ्ट इञ्चार्ज छविलाल अर्याल कन्ट्रोल रुममा ड्युटीमा थिए। एक्कासी आवाज आएपछि भुईतलामा रहेका विकलाई खबर गरेर भाग्दाभाग्दै उनी बचेका थिए। रसिको सहायताले बाहिर निस्किएका अर्यालले २०-२५ मिनेट विद्युतगृहभित्र पुरिए पनि आफू सकुशल निस्किएकोमा नयाँ जीवन पाएको महसुस गरेका छन्।
विसं २०७४ देखि निर्माण सुरु भई २०८० असारदेखि उत्पादन थालेको आयोजना सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा थियो। पहाड काटेर बनाइएको विद्युतगृहभन्दा माथि रहेको पहाड भत्किएर पहिरो खसेको हो। आयोजनामा ३,५०० मिटर सुरुङबाट ल्याइएको पानी ४८५ मिटर उचाइबाट १,२०० मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिन्थ्यो।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाले आयोजनामा पुगेको क्षतिको मूल्याङ्कन सुरु भएको बताए। अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको ठाउँबाट पहिरो खसेर जनधनको क्षति भएको बताए। वडाध्यक्ष रामबहादुर खड्काले सहयोगी वडावासी गुमाउनुपर्दा दुःख व्यक्त गरेका छन्। मृतकका परिवार र आयोजनाबीच क्षतिपूर्तिको सहमति भएको छ।
