महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले ६२ वर्षीय टंकबहादुर बस्नेतको ज्यान लिएको छ। बर्दिबास नगरपालिका–५ निवासी बस्नेतलाई बुधबार साँझ खोलाले बगाएको थियो।
खोला छेउको खेतमा पानी तान्ने विद्युतीय मोटर बगाउन थालेपछि बस्नेत त्यसलाई जोगाउन खोलातर्फ गएका थिए। अचानक आएको बाढीले उनलाई बगाउँदा उनी बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा बस्नेतको शव फेला पारेको पुष्टि गरेका छन्।
