सरकारले नेपाल योग खेलकुद संघका महासचिव चुडामणि खरेललाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले खरेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
खरेल मानविकी, अंग्रेजी, राजनीतिशास्त्र र कानुनको प्राज्ञिक पृष्ठभूमि भएका शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।
यसअघि खरेलले नेपाल स्केटिङ तथा स्केटबोर्ड संघको महासचिव र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उप–समितिको सदस्य सचिवका रूपमा काम गरेका थिए। योग खेलकुद संघको महासचिवका रूपमा उनको वर्तमान भूमिका छ।
