NM Khabar 18 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मटिअर्वा नाकामा कडाइ: सीमावर्ती नेपालीलाई सास्ती, सामान ल्याउन रोक

• बाराको मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकको चेकजाँचमा कडाइ गरेको छ। • सीमावर्ती नेपाली नागरिकहरूलाई घण्टौँ रोक्ने र कागजात माग्ने बहानामा सास्ती दिइएको छ। • किनमेलका लागि भारतीय बजार जानेहरूले सामान ल्याउनसमेत कडाइको सामना गर्नुपरेको छ।
Kamala Devi
Kamala Devi
18 June 2026, 7:50 pm १ मिनेट पढाइ
आकार:
मटिअर्वा नाकामा कडाइ
Share:

बाराको मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकको चेकजाँचमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले सास्ती खेप्नुपरेको छ। विगत दुई दिनदेखि एसएसबीले नेपाली नागरिकलाई भारतीय बजार आदापुर जानका लागि घण्टौँ रोक्ने र चेकजाँच गर्ने गरेपछि उनीहरू मर्कामा परेका छन्।

कलैया उपमहानगरपालिका–१० मा रहेको मटिअर्वा छोटी भन्सार नाकाबाट भारतीय बजार आदापुर जाने नेपाली नागरिकलाई यसअघि एसएसबीले रोकटोक गर्ने गरेको थिएन। मनोज प्रसादका अनुसार पहिला सवारी साधनसहित नेपाली नागरिकलाई सहजै भारत प्रवेश गर्न दिने गरिएको थियो।

तर, अहिले नेपाली नागरिकता र सवारी साधनका कागजात माग्ने बहानामा घण्टौँ रोक्ने गरिएको छ। चेकजाँचको नाममा हुने सास्तीले गर्दा कतिपय नागरिक भारतीय बजार नजाई फर्किने गरेका छन्।

नेपाली बजारभन्दा भारतीय बजारमा खाद्यान्न, मेसिनरी, लत्ताकपडा र कस्मेटिक सामान सस्तो पाइने भएकाले सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय बजारबाट किनमेल गर्ने गर्छन्।

एसएसबीले सामान ल्याउन पनि कडाइ गरेको छ। नीलकण्ठवाका त्रिभुवन प्रसादका अनुसार पहिला साइकलमा दुई बोरासम्म चामल ल्याउन दिने गरिएकोमा अहिले आधा बोरा मात्रै ल्याउन दिइएको छ।

अझ, बढी सामान ल्याउने केही व्यक्तिका सामान मटिअर्वामै एसएसबीले जफत गर्ने गरेको छ। यसबाट जोगिन केही व्यक्तिहरू खेतका बाटाहरू प्रयोग गरेर सामान ओसारिरहेका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले मटिअर्वा नाकामा एसएसबीले कडाइ गरेकोबारे सशस्त्र प्रहरीबाट जानकारी आएको बताए। उनले सीमामा कडाइ गरिनुको कारण भारतीय पक्षसँग बुझ्नुपर्ने बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार