NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्रीको धम्की: सांसद यादवको प्रश्न, ‘खुट्टा भाँचिदिने’लाई कानुन लाग्दैन ?

सांसद रेखाकुमारी यादवले मन्त्रीहरूका धम्कीपूर्ण अभिव्यक्तिले कानुनको शासनमाथि प्रश्न उठाएकी छन्। अर्थमन्त्रीले सांसदलाई र पूर्वाधार मन्त्रीले ठेकेदारलाई धम्की दिएको भन्दै उनले आपत्ति जनाइन्। गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन सार्वजनिक गर्न र मन्त्रीहरूको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
16 June 2026, 12:17 pm १ मिनेट पढाइ
आकार:
मन्त्रीको धम्की
Share:

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सरकारका मन्त्रीहरूले नियम कानुनको धज्जी उडाउँदै अभिव्यक्ति दिइरहेको भन्दै संसद्मा प्रश्न उठाएकी छन्। मंगलबार संसद् बैठकमा बोल्दै उनले मन्त्रीहरूका पछिल्ला अभिव्यक्तिहरू अराजक रहेको र त्यसले कानुनको शासनलाई चुनौती दिएको आरोप लगाइन्।

सांसद यादवले अर्थमन्त्री स्वर्णिम वाग्लेले रोष्टमबाट सांसदहरूलाई धम्क्याउने अभिव्यक्ति दिएकोमा आपत्ति जनाइन्। उनले भनिन्, ‘यदि फाइल खोल्छु भनेर धम्की दिनुहुन्छ भने, देशको नियम कानुन अन्तर्गत रहेर कारबाही गर्नुपर्छ, धम्की दिनु भएन।’

त्यस्तै, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेकेदारलाई ‘काम नगरे खुट्टा भाँचिदिनु’ भनी दिएको अभिव्यक्तिप्रति पनि उनले प्रश्न गरिन्। ‘के देशमा नियम कानुन छैन? उहाँहरू सर्वमान्य हुनुभयो?’ यादवले प्रश्न गरिन्, ‘मन्त्री, प्रधानमन्त्रीज्यूहरूले कानुन नमान्ने हो भने कसले मान्ने?’

यसैबीच, गृहमन्त्री सुदन गुरुङको विषयमा गठित छानबिन समितिको प्रतिवेदन सदनलाई जानकारी नदिई उनलाई पुनः सरकारमा फर्काइएको भन्दै यादवले आक्रोश व्यक्त गरिन्।

सांसद यादवले चार बुँदे माग राख्दै प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे स्पष्ट जवाफ, अर्थमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण, गृहमन्त्रीको छानबिन प्रतिवेदन सार्वजनिक गरिनुपर्ने र मन्त्रीहरूको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने माग गरिन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार