सिरहाको मिर्चैया नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि २५ लाख ५८ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। नगरपालिकाले ५ लाख रुपैयाँ दिनेछ। जनप्रतिनिधिको १५ दिनको सेवा सुविधा र कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको ५ दिन बराबरको पारिश्रमिक पनि सहयोगमा जुटाइने छ।
शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त रकम राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख श्रवण यादवले जानकारी दिए। विपद्को घडीमा जनप्रतिनिधि र कर्मचारीको पनि दायित्व हुनुपर्छ भन्ने सल्लाह बमोजिम निर्णय गरिएको यादवले बताए।
नगरपालिकाको पाँच लाख, कर्मचारीको ५ दिनको पारिश्रमिक र जनप्रतिनिधिको १५ दिनको सेवा सुविधा जोड्दा कुल २५ लाख ५८ हजार रुपैयाँ पुग्ने नगर प्रमुख यादवले स्पष्ट पारे। उक्त रकम एक साताभित्र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ। यसअघि सिरहाकै लहान नगरपालिकाले ११ लाख सहयोग घोषणा गरेको थियो। गोलबजार, सिरहा र कल्याणपुर नगरपालिकाले ५–५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
यसैबीच, भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २० लाख ४० हजार रुपैयाँ पाउने भएका छन्। प्रहरीका अनुसार कल्याण कोषबाट ३ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख र राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ पाउनेछन्। मृतक प्रहरीका परिवारले संगठनबाट थप १० लाख रुपैयाँ राहत पाउनेछन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले मृतकले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ।
विराटनगरका स्कुले बालबालिकाले टिफिन खर्च जोगाएर १ लाख ३५ हजार रुपैयाँ राहत संकलन गरेका छन्।
