मोरङको ग्रामथान गाउँपालिकामा २१ वर्षीय सौचन खवासले आफ्नै २० वर्षीया भाउजू सीमा राजवंशीको खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका छन्। यो घटना असार २२ गते राति साढे ८ बजेतिर भएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सौचनले कपिल खवासकी श्रीमती सीमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको कारण अहिलेसम्म स्पष्ट खुलेको छैन। सोही क्रममा बचाउ गर्न खोज्दा ४४ वर्षीय ठुलोबुबा शिवलाल खवास पनि घाइते भएका छन्। उनको दाहिने कुममा गहिरो चोट लागेको छ र स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी नायब निरीक्षक मोतिराज दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले हत्यामा संलग्न सौचन खवासलाई नियन्त्रणमा लिएको छ।
मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले खवासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको बताए।
