मोरङ जिल्ला कारागारको बी ब्लकमा कैदीबन्दीको समानान्तर सत्ता सञ्चालनमा रहेको सूचनापछि स्थानीय प्रशासनले छापा मारेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार गरेको उक्त कारबाहीमा कारागारभित्रबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ। यो रकम कसरी कारागारभित्र पुग्यो र यसको प्रयोगबारे प्रहरीले अनुसन्धान थालेको छ।
नगदसँगै लुकाइराखेको अवस्थामा आठ वटा फलामे रडसमेत फेला परेको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बरामद सामग्रीको स्रोत र प्रयोजनबारे गम्भीर अनुसन्धान सुरु गरिएको बताए।
‘बरामद सामानको योजना र यसको पछाडिको उद्देश्यबारे सूक्ष्म अध्ययन भइरहेको छ,’ एसपी कटुवालले भने। यसअघि भारतीय नागरिक चन्चल बर्मा र मनिष विकको समूहले कारागारभित्र एकलौटी प्रभाव जमाएको थियो।
उक्त समूहको दबाबले सुरक्षाकर्मीलाई बी ब्लकमा खानतलासी गर्न चुनौती बनेको थियो। कारागार प्रशासनले दुई चरणमा ३७ जना कैदीबन्दीलाई स्थानान्तरण गरेर उक्त समूहलाई कमजोर पारेको थियो।
मुख्य नाइके चन्चल र मनिषसहितका कैदीलाई अन्यत्र पठाएपछि सुरक्षा स्थिति सामान्य बनेको थियो। त्यसलगत्तै प्रहरीले छापा मारेको हो। प्रहरीले कारागारको आन्तरिक सुरक्षा व्यवस्था कडा पारेर निगरानी बढाएको छ।
