विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा छापा मारेको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको छ।
प्रदेश प्रहरी कार्यालयले एसपी कटवाललाई छापा मार्नुको कारण, उद्देश्य, सूचनाको स्रोत, त्यसको विश्वसनीयता परीक्षण र त्यससम्बन्धी अभिलेख उपलब्ध गराउन भनेको छ। एसएसपी योगेन्द्रसिंह थापाले पठाएको नौबुँदे स्पष्टीकरणमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने निर्णयको वस्तुगत आधार, माथिल्लो निकायको स्वीकृति लिइएको थियो वा थिएन, र आवश्यक कानुनी तथा कार्यविधिगत प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा पनि जवाफ मागिएको छ।
यसअघि साउन १८ गते बिहान देवनरा समूहका सञ्चालक तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा अवैध कारोबार तथा कर छलीको आशंकामा प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरेको थियो। तर, प्रहरीले केही पनि फेला नपरेको भन्दै विज्ञप्ति जारी गरेको थियो।
घटनापछि उद्योगी–व्यवसायीले प्रहरी कारबाहीको शैलीप्रति असन्तुष्टि जनाउँदै पर्याप्त आधार र प्रक्रिया बिना ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भन्दै विरोध जनाएका थिए। विवाद चर्किएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले विराटनगरका व्यवसायीसँग अन्तरक्रिया गरी औद्योगिक सुरक्षा, सुरक्षा चुनौती तथा प्रहरी र निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्ने विषयमा छलफल गरेका छन्।
डीआईजी खनालले छलफलमा सुरक्षा चुनौती सामना गर्न प्रहरी र निजी क्षेत्रबीच आपसी विश्वास, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। यस घटनाले प्रहरी संगठनको व्यावसायिक छविमा परेको असरबारे पनि स्पष्टीकरणमा जवाफ दिन भनिएको छ।
